३ वर्षयता कैलालीमा ७ हजार बढी महिलाले गरे सुरक्षित गर्भपतन, असुरक्षित गर्भपतन गर्नेको छैन तथ्याङ्क !

३ वर्षयता कैलालीमा ७ हजार बढी महिलाले गरे सुरक्षित गर्भपतन, असुरक्षित गर्भपतन गर्नेको छैन तथ्याङ्क !

कैलाली । कैलाली जिल्लामा पछिल्लो तिन वर्षयता ७ हजार ३ सय ७५ महिलाहरूले सुरक्षित गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार ४ हजार १ सय १७ जनाले औषधि मार्फत र सर्जिकल विधिमार्फत (औजारहरूको प्रयोग गरेर) ३ हजार २ सय ५८ जनाले सुरक्षित गर्भपतन गराएका हुन् । 

जिल्ला स्वास्थ्य कार्यालय कैलालीमा सुरक्षित मातृत्व कार्यक्रम अन्तरगत काम गरिराख्नु भएकी स्वास्थ्यकर्मी रमा गिरीका अनुसार कैलाली जिल्लाका ४२ वटा सूचीकृत स्वास्थ्य संस्था मार्फत २० वर्ष मुनिका र २० वर्ष माथि उमेर समूहका महिलाहरूले आर्थिक वर्ष २०७७/७८ मा औषधिको माध्यमबाट १ हजार ४ स ६८ र सर्जिकल विधिमार्फत १ हजार ६५ जनाले सुरक्षित गर्भपतन गराएका छन् । 

त्यस्तै, आ.व २०७६/७७ मा औषधिको माध्यमबाट १ हजार २ सय ४१ र सर्जिकल विधिमार्फत ७ सय ९ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । भने आव २०७५/७६ मा औषधिको माध्यमबाट १ हजार ४ सय ८ र सर्जिकल विधिमार्फत १ हजार ४ सय ८४ जना महीलालहरूले सुरक्षित गर्भपतन गराएका छन् ।
 
स्वास्थ्यकर्मी गिरीले कैलाली जिल्लामा सुरक्षित गर्भपतन गराउनेहरूको तथ्याङ्क हेर्दा औसतमा रहेको र यसलाई सामान्यरुपमा लिन सकिने बताउनुहुँदै अझै कयौँ महिलाहरू सुरक्षित गर्भपतनको दायरा भित्र आई नसकेको र उक्त तथ्याङ्क आफूहरू सँग पनि नरहेको जानकारी दिइन् ।

उनले, 'कैलालीमा अझै कयौँ महिलाहरू सुरक्षित गर्भपतनको दायरा भन्दा बाहिर रहेका छन् । हामी सँग पनि जिल्ला स्वास्थ्य कार्यालय कैलालीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा आएर गर्भपतन गराउनेहरूको मात्रै तथ्याङ्क छ । अन्य प्राइभेट स्वास्थ्य संस्था र असुरक्षित गर्भपतन गराइराखेका महिलाहरूको तथ्याङ्क  छैन । तर उहाँहरूलाई पनि कसरी दायरा भित्र ल्याउन सकिन्छ भनेर सोच्नु पर्ने बेला आएको छ ।'  

त्यस्तै, अहिलेको परिपेक्षमा सुरक्षित गर्भपतनलाई परिवार नियोजनको साधन सँग तुलना गरिएको जानकारी दिँदै गिरीले सुरक्षित गर्भपतनलाई बढवा दिनु भन्दा पनि परिवार नियोजनका साधनको प्रयोग गरी अनिश्चित तरिकाले बस्ने गर्भलाई नै रोक्नु पर्ने बताइन् । 

'अहिलेको अवस्थामा सुरक्षित गर्भपतनलाई परिवार नियोजनको साधनहरू सँगै दाँजिएको छ । अनिश्चित गर्भ बसिहाले त सुरक्षित गर्भपतन गराउनै पर्‍यो । तर सके सम्म परिवार नियोजनका साधनहरू प्रयोग गर्न आवश्यक छ ।  कैलालीमा परिवार नियोजनका साधनको प्रयोग गर्ने सँख्या एकदमै न्यून छ । परिवार नियोजन साधनमा वृद्धि आए स्वतह असुरक्षित गर्भ बस्नबाट जोगिन सकिन्छ । भने असुरक्षित गर्भ नै बसेन भने गर्भपतनमा पनि कमी आउने थियो ।' उनले भनिन् । 

गिरिले सुरक्षित गर्भपतन कार्यक्रमले हासिल गरेका उपलब्धिहरूको बारेमा जानकारी दिँदै भनिन्, 'यसले महिलाको अधिकार लाई सुनिश्चित गर्दै जान्छ । अहिलेको अवस्थामा करिब ९६ प्रतिशतले गर्भपतन पश्चात् परिवार नियोजनको साधन निरन्तर प्रयोग गरिरहेका छन् । औषधि बाट गरिने सुरक्षित गर्भपतन सेवा नेपालका १५ वटा जिल्लाबाट निरन्तर सेवा दिइरहेको छ । पहिले महिलाहरू लुकी छिपी गर्भपतन गर्न बाध्य थिए भने अहिले खुलेर आउन थालेका छन् । र यसलाई थप प्रभावकारी र गुणस्तरीय बनाउनको लागी कैलालीका स्थानीय हरुले बजेट छुट्टाउने र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।' 

साथै गिरिले सुरक्षित गर्भपतन सम्बन्धी चुनौतीमा भने त्यति कमी नआएको बताइन् । 'सुरक्षित गर्भपतन सम्बन्धी अविवाहित महिलाहरूको , विवाहित महिलाहरूको हकमा सामाजिक भेदभाव र लाञ्छना कायम नै रहेका छन् । सबै स्वास्थ्य संस्था सूचीकृत नहुनु, सेवामा विस्तारको कमीका साथ साथै एक पटक गर्भपतन गरिसकेपश्चात् यसलाई परिवार नियोजनको साधन जस्तै पटक पटक गर्दा पनि के नै फरक पर्छ र भन्ने खालको मनोवृत्तिले पनि चुनौती बढ्दै गएको छ । त्यस्तै सेवा सम्बन्धी औषधी पर्याप्त नहुनु र लामो अवधिका परिवार नियोजनका साधन आई सिडी, इम्पालान्ट जस्ता साधनहरूको प्रयोगमा कमी र त्यस्तो तालीम प्राप्त व्यक्तिहरू पनि कम भएकोले पनि सुरक्षित गर्भपतन सेवा विस्तार गर्न चुनौतीहरू भने कायम नै छन् ।' उनले भनिन् ।