यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिलेसम्म बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएकाले मनसुन औसत समयभन्दा केही ढिलो गरी बाहिरिने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
मनसुन लम्बिए पनि निष्क्रिय रहेकाले ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने भन्ने गरिए पनि यसपालिदेखि परिमार्जन गर्दै जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने समय तोकिएको छ ।
हरेक १०, १० वर्षमा मनसुनको समय परिमार्जन गर्ने गरिएको छ । अक्टोबर २ तारिख आउन अब तीन दिन मात्रै बाँकी छ । तर, मनसुनी गतिविधि भने कायमै छ । अहिले देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । झापा र त्यस आसपासका क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । अहिले मनसुनको न्यून चापीय रेखा औसत भन्दा केही दक्षिणतिर रहेकोले त्यस क्षेत्रमा पानी परेको हो ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने अनुमान छ । बंगालको खाडीको उत्तर पश्चिम भू–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।