डोटीमा सिडिओ र प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या

डोटीमा सिडिओ र प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत नपठाएका कारण सेवा प्रवाहमा कठिन हुँदै आएको छ। प्रजिअ नहुँदा जिल्लामा विभिन्न सुरक्षासम्बन्धी बैठक हुन सकेका छैनन् भने प्रशासकीय अधिकृत नहुँदा नागरिकता वितरणदेखि अन्य सिफारिसका कार्यमा सेवाग्राहीलाई समस्या हुने गरेको बताइएको छ।

यतिमात्र नभई प्रशासनमा तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको दिपायल सिलगढी नगरपालिका–५ का रामबहादुर भण्डारीले बताए।  यहाँ कार्यरत प्रजिअ सुनिल खनाललाई गृह मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन कार्यालय प्रमुखविहीन बनेको हो।

प्रजिअको सरुवा भएपछि अहिले निमित्त प्रजिअ किरण जोशीलाई तोकिएको छ। एकजना मात्रै निमित्त प्रजिअ जोशीले नागरिकता प्रदान, राहदानी सिफारिसदेखि अन्य विभिन्न प्रकारका सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ।

कर्मचारी अभावले सेवाग्राहीलाई कठिनाई भएको निमित्त प्रजिअ जोशीले बताए। उनले भने, “प्रजिअ पनि हुनु हुन्न, प्रशासकीय अधिकृत पनि छैनन्, काममा समस्या भएको छ, सेवाग्राहीलाई पनि गाह्रो भएको छ।” प्रजिअसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ कर्मचारी मात्र कार्यरत छन्।

कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका काममा समस्या उत्पन्न भएको बताइएको छ।