कैलालीका यी अभागी बुवा जो बलात्कारमा परेकी आफ्नी छोरीको न्यायको भिक माग्दै भौँतारिरहेका छन्

कैलालीका यी अभागी बुवा जो बलात्कारमा परेकी आफ्नी छोरीको न्यायको भिक माग्दै भौँतारिरहेका छन्

धनगढी । कैलालीकी १३ वर्षीय बालिका परिवर्तित नाम ७१ धनगढी ६७ (ख) गत माघमा जवरजस्ती करणीमा परिन । विसराम भन्ने कालुराम थारुले उनलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

अहिले थारु कैलाली जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि कैलाली कारागारमा छन । छ सदस्यीय परिवार रहेको पीडितको घरमा आम्दानी गर्ने एक जना छन । घर नजिकै काठ व्यवसाय गर्दै आईरहेका उनका बुबा भन्छन –‘छोरी करणीमा परेपछि पीडामाथि पीडा खेप्नु परिरहेको छ ।’ उनले मुद्दाको अदालतले छिटोभन्दा छिटो फैसला गर्नुपर्ने बताए । उनले भने –‘हामीलाई पीडा दिने मानिस मज्जाले कारागारमा बसेको छ । त्यहाँ उसलाई रासन, आरामदायि बसोबास छ । मेरै कमाइले चलेको परिवार अहिले अदालतले बोलाउने बित्तिकै काम छोडेर जानुपरेको छ ।’

फागुन ३ गते जिल्ला अदालतमा दर्ता भएको सो मुद्दाको आठ महिना पुग्दा समेत फैसला गर्न सकेको छैन । आफन्त भन्छन –‘चार पटक पेशी सरिसकेको छ । कहिले इजलास बस्दैन । कहिले अधिवक्ताको समय हुँदैन ।’

कैलाली जिल्ला अदालतका अनुसार सो मुद्दाको पहिलो पेशी बैशाख ७ गते तोकिएको थियो । सो समयमा अदालतले विशेषज्ञसंग बुझन आदेश दिएको थियो । त्यसयता सो मुद्दाको पेश तीन पटक सारिएको छ । असार २९ गते तोकिएको मुद्दाको पेशी कानुन व्यवसायी आउन नसक्ने भएपछि स्थगित गरि साउन २७ गते बोलाइएको थियो । सो समयमा बार इकाईको पत्रका कारण मुद्दाको पेशी साउन १६ गते तोकिएको थियो । सो दिन इजलास नबस्दा असोज १९ गते तोकिएको छ । आफन्त भन्छन–‘अझै कुनै कारण देखाई पेशी तोकिने हो की ?’

पीडितका आफन्तहरु भन्छन –‘पीडक दोषी छ भने छिटो कानुन अनुसार सजाय दिनुपर्यो । निर्दोष भए छोड्नुपर्यो । यसरी कति दिनसम्म हुन्छ ।’

डिएनए परिक्षण भएन
अभियूक्त पक्राउ परेदेखिनै पीडितका आफन्तहरुले डिएनए परिक्षण गर्नुपर्ने माग राखे । पीडक पक्षको सहमति नआउँदा अहिलेसम्म डिएनए परिक्षण भएको छैन । ‘अहिले त छोरीले नातीनि जन्म दिइ सकेकी छे । दुबैको डिएनए गराउ भन्दा कसैले सुन्दैन’ पीडितकी आमाले भनिन –‘के परिक्षण नगरेर पीडकलाई कानूनी कारबाहीबाट उम्काउने प्रयास त होइन ?’

उनका आफन्तका अनुसार पीडक पक्षले मुद्दा मिलाउनका लागि विभिन्न प्रलोभन देखाएका थिए । उनीहरुका अनुसार पीडक पक्षले २० लाखसम्मको रकम दिने प्रलोभन देखाई मुद्दा मिलाउन प्रलोभन दिएको थियो ।

नातीनिको स्वास्थ्य अवस्था विग्रदै
पीडित ६७ (ख)ले साउन २६ गते धनगढीस्थित नीजि अस्पतालमा छोरी जन्म दिइन । ‘जन्मदा शिशुको तौल तीन किलो थियो । अहिले तौल घटेर साढे दुई किलो पुगेको छ’ आफन्तले भने ‘आमाको दुध पुग्दैन । घरायशी आर्थिक अभावका कारण बाहिरबाट दुध किनेर ल्याएर खुवाउन सक्ने अवस्था छैन ।’