झडपमा परेर घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार

झडपमा परेर घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिममा दुई समूहबीच भएको झडपमा घाइते भएका दुई जनालाई हेलिकप्टरमार्फत  कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

आठबिसकोट नगरपालिका-३ स्यालाखदिका दुई समूहबीच खुकुरी हानाहान हुँदा घाइते भएका तलिगाउँ टोलका २३ वर्षीय कर्णबहादुर बोहरा र माथि गाउँका ६२ वर्षीय लक्षे कामी गम्भीर घाइते भएका हुन् । उनीहरुलाई  उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।

स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि  सुर्खेतबाट हेलिकप्टर मगाएर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कपिल जङ्ग शाहीले बताउनुभयो ।

तलिगाउँ र माथिगाउँ बीच पुरानो राजनीतिक रिसइबी, खानेपानी मुहानको पुरानो विवादका कारण घटना भएको प्रहरीले जनाएको छ । तलिगाउँका स्थानीय नेपाली कांग्रेस समर्थित र माथि गाउँका नेकपा माओवादी समर्थित रहेका छन् ।