कञ्चनपुरमा अवैध सामान र काठ बोकेको ट्र्याक्टरसहित २ जना नियन्त्रणमा

कञ्चनपुरमा अवैध सामान र काठ बोकेको ट्र्याक्टरसहित २ जना नियन्त्रणमा

कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले अवैध सामान र काठ बोकेको ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट गड्डाचौकी, आपताल, पशुपति टोल र झिलमिलाबाट खटिएको सीमा गस्ती टोलीले ५ लाख ३१ हजार ७९५ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो।

प्रहरीले बेवारिसे अवस्थामा रहेको सुर्ती, बिडी, खाद्य बस्तु, कपडा, मोटरसाइकलका पार्ट्स, सिसौ, जामुनको काठसहितको ट्र्याक्टर र दुई जनालाई नियन्त्रणमा लिएको बताएको छ।

अवैध सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाएको र काठसहित ट्र्याक्टर र नियन्त्रणमा लिइएका दुवै जनालाई रेन्जर पोष्ट बेल्डाँडी बुझाएको प्रहरीले जनाएको छ।