गोकुलेश्वरमा लिफ्टबाट सिँचाइ गर्ने योजना उद्घाटन, सिँचाइको समस्या समाधान हुने

गोकुलेश्वरमा लिफ्टबाट सिँचाइ गर्ने योजना उद्घाटन, सिँचाइको समस्या समाधान हुने

बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको सिचाइको समस्या समाधान हुने भएको छ । केन्द्रीय सरकारको सहयोग र नवीकरणीय जलस्रोत प्रयोजनाको सहकार्यमा उक्त वडामा शुक्रवार सोलार लिफ्ट योजनाको उद्घाटन गरिएको हो ।

वर्षौँदेखि पानी अभावका कारण तरकारी खेती लगायतका कृर्षी कामहरू गर्न समस्या झेल्दै आएका किसानहरूलाई अब सहज हुने भएको छ । सोलार लिफ्ट योजनाको उद्घाटन भएसँगै गाउँपालिकाको वडा नम्बर ६ मा सिँचाइको अभाव खेपिरहेका करिब २५० भन्दा बढी घर परिवारका बासिन्दालाई राहत मिल्ने छ ।

गाउँमा सिँचाइ सुविधाको उद्घाटन भए पश्चात् विकास भित्रिएको अनुभव भएको स्थानीयहरूले बताएका छन् । सिचाइ सुविधा भएपछि हामीलाई तरकारी खेती गर्नलाई पनि सहज र हाम्रा सपना पूरा हुने त्यहाँका  स्थानीयवासीले बताएका छन् । पहिले हाम्रो यता सिचाइ सुविधा नहुँदा समस्या थियो, जेनतेन गरेर पनि तरकारी खेती गर्ने गरेको स्थानीय देवेन्द्र सिंह मालले बताए ।

 ''हामीले फलाएको तरकारी स्थानीय बजार गोकुलेस्वर जिल्ला सदरमुकाम बैतडी, दार्चुला सदरमुकाम खलङ्गासम्म पुग्थ्यो,' किसान मालले भने, 'अब थप सिचाइ को सुविधा भए पश्चात् अझै तरकारी खेती गरेर खोड्पे बैतडी, डडेल्धुरा, धनगढी र महेन्द्रनगर सम्म तरकारी पुर्‍याउन प्रयत्न गर्ने छौँ ।'' सोलार लिफ्ट योजनाको उद्घाटन डिलाशैनी गाउँपालिका ६ का अध्यक्ष बल बहादुर मालले गरेका हुन ।

डडिया गोकुलेश्वर सोलार लिफ्ट सिचाइ प्रयोजना मुहान देखि करिब ५ सय मिटर भन्दामाथि पुग्ने र केन्द्रीय सरकारको दुई करोड ५० लाखको लगानीमा सम्पन्न हुने वडा अध्यक्ष मालले जानकारी दिए । उक्त सिँचाई परियोजना उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, उपभोक्ता समिति, स्थानीय बासिन्दा लगायतका व्यक्तहरूको सहभागिता रहेको थियो ।