धनगढीमा जेष्ठ नागरिक पहिचानका लागि सांकेतिक चिह्न सुरु, जेष्ठ नागरिक सम्मानित

धनगढीमा जेष्ठ नागरिक पहिचानका लागि सांकेतिक चिह्न सुरु, जेष्ठ नागरिक सम्मानित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ ले वडामा ज्येष्ठ नागरिकका घरमा सांकेतिक चिह्न राख्न सुरु गरेको छ ।

ज्येष्ठ नागरिकलाई एकीकृत सेवा प्रवाहमा सहजता ल्याउन सो सांकेतिक चिह्न राख्न सुरु गरेको हो । फाया नेपालको सहकार्य, राष्ट्रिय मानवअधिकार आयोग, वेहडाबाबा ज्येष्ठ नागरिक समाजको सहयोग तथा वडा कार्यालयको आयोजनामा शुक्रबार ३१ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सो अभियान सुरु गरेको वडा अध्यक्ष फूलराम चौधरीले बताए ।

उनले ७० वर्षभन्दा माथि उमेर समुहका ज्येष्ठ नागरिकको पहिचान गरी घरमा चिन्ह राखिएको बताए । उनले अधिकाकांश मानिसले अक्षरभन्दा सांकेतिक चिह्नबाट बढी जानकारी लिने भएकाले वडा कार्यालयले सो अभियान सुरु गरेको बताए ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले नगरका हरेक वडामा एक आवास गृह बनाउने बताएका छन्।

‘ज्येष्ठ नगारिकहरु अहिले एक्लो बन्दै गएका छन । बालबच्चा विद्यालय जान्छन । युवायुवतीहरु रोजगारीमा हुन्छन । घरमा उनीहरुको हेरचाह गर्ने कोही हु“दैन’ उनले भने –‘ज्येष्ठ नागरिकको स्याहार तथा सहायता गर्न हरेक वडामा आवास गृह आवश्यक छ । सोही अनुसार मैले वडा अध्यक्षहरुलाई निर्देशन पनि दिइसकेको छु ।’

उनले अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर २ खाजासहितको आवास गृह सञ्चालनमा रहेको बताए । ‘वडा नम्बर १४ मा प्रदेश स्तरकै आवासगृह सञ्चालनको अन्तिम अवस्थामा छ । कोभिड महामारीका कारण आवासगृहका कार्यक्रम प्रभावित भएका छन्’ उनले भने ।

यस्तै कार्यक्रममा बेहडाबाबा जेष्ठ नागरिक समाजका सस्थापक अध्यक्ष गंगाराम चौधरीलाई मरणोपरान्त सम्मान गरिएको थियो । त्यस्तै १०४ वर्षीया रम्मा रानालाई समेत दोसल्ला ओढाएर मेयर वडले सम्मान गरेका थिए ।