कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडितको बिचल्ली, जंगलमै बास

कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडितको बिचल्ली, जंगलमै बास

धनगढी । कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई वर्षअघि गएको पहिरो पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन् । पहिरोबाट प्रभावित नागरिकहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन ।

वैज्ञानिक मापदण्ड विपरित वर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ । पहिरोका कारणले गाउँ नै विस्थापित भइरहेका छन् । चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनी, गुणी लगायतका गाउँमा पहिरोका कारण गाउँ नै विस्थापित हुन थालेका हुन् ।

चुरेका बिभिन्न बस्तीमा पहिरो जान थालेपछि त्यहाँका स्थानीय घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेका छन् । अहिले सबै विस्थापित घर बिहिन बन्दै गएका छन् । गाउँमा बस्न सक्ने अवस्था नभएपछि केहि सडकमै बसिरहेका छन् । पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । यता सरकारले विस्थापितहरुको बारेमा केही नगरेको स्थानीयले आरोप लगाएका छन् ।

गत वर्ष आएको पहिरोका कारण पट्रेनी, गुणीका ३ सय परीवार विस्थापित भएका छन ।  यस्तै भदौ ९ र १० गतेको  भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरु नराम्ररी प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा छन् ।