देशैभर एमालेसँग प्रतिवाद नगरि चुनाव जितिँदैन : प्रचण्ड

देशैभर एमालेसँग प्रतिवाद नगरि चुनाव जितिँदैन : प्रचण्ड

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ । 

अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाउनु भयो । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले अबको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । 

अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिनु भयो । उहाँले भन्नु भयो, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् ।

उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरि चुनाव जितिँदैन । यो देश हामीले बचाउनु पर्छ, गणतन्त्र हामीले बचाउनु पर्छ । देशको रक्षा गर्नु पर्छ ।’ अध्यक्ष दाहालले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढ्नुपर्ने तर्क समेत गर्नु भयो । उहाँले केपी ओली एक्लै केही नभएको पनि बताउनुभयो ।

अध्यक्ष दाहालले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेडक्वाटरमै बमबारी गर्नु परेको दोहोर्याउनु भयो । उहाँले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको पनि बताउनु भयो ।

उहाँले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया समेत दिनु भयो । अध्यक्ष दाहालले भन्नु भयो, ‘आज म खुसी छु । अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, राष्ट्रको हित गर्ने सबै मान्छेहरुसँग सहकार्य भएको छ ।

शेरबहादुर जीले मलाई पाँच वर्ष नै तपाई प्रधानमन्त्री हुनुस्, हामी फ्लोरमा बसेर समर्थन गर्छौं भन्नुभएकाे थियाे तर जनताको बीचमा जान छोडेर प्रधानमन्त्री खान खोजे भने त म पनि प्रतिक्रियावादी जस्तै अवसरवादी हुने भएँ नि, त्यसैले मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाइँन ।'

अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहोर्‍याउनु भयो । तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको उहाँको भनाई थियो ।