क्षेत्रीय अधिवेशन :बझाङमा देउवा समूहको हावी, बाजुरामा कस्तो छ ?

क्षेत्रीय अधिवेशन :बझाङमा देउवा समूहको हावी, बाजुरामा कस्तो छ ?

बझाङ र बाजुरामा कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न गरेर नेता कार्यकर्ताहरू जिल्ला अधिवेशनको चटारोमा छन् । बझाङका दुवै प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । बाजुरामा देउवा र पौडेल दुवै पक्षले एकरएकवटा निर्वाचन क्षेत्रमा विजयी भएका छन् ।

बझाङको प्रदेश निर्वाचन क्षेत्र क–बाट देउवा पक्षका उम्मेदवार पुस्कल बोहरा र क्षेत्र– ख बाट पनि देउवा पक्षकै धनबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । बाजुरामा भने क्षेत्र नं क मा पौडेल पक्षका उम्मेदवार रामबहादुर बोहरा निर्विरोध निर्वाचित भए । निर्वाचन क्षेत्र नं ख मा भएको निर्वाचनबाट देउवापक्षका उम्मेदवार रंगबहादुर खाती विजयी भएको कांग्रेस बाजुराका नेता चक्र शाहीले जानकारी दिए ।

क्षेत्रीय अधिवेशन सम्पन्न भएलगतै दुवै जिल्लाका नेता कार्यकर्ता जिल्ला अधिवेशनमा केन्द्रित भएका छन् । शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनको शनिवार मनोनयन दर्ता भएको छ । बझाङमा सभापति पदको लागि खडक बोहरा र रमेश भण्डारीको मनोनयन दर्ता भएको कांग्रेस बझाङका नेता उत्तम रोकायाले जानकारी दिए । दुवै जना देउवा पक्षका हुन् ।

बाजुरामा भने शनिवार मात्रै जिल्ला अधिवेशनको उद्घाटन भएको छ । आइतवारबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ । बाजुरामा पौडेल पक्षबाट रामसिंह रावलले सभापतिको दाबेदारको रूपमा तयारी गरेका छन् । देउवा पक्षबाट कविराज पण्डित, धनराज पण्डित र चक्र शाह सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको शाहले बताए । यसअघि सम्पन्न भएका पालिका अधिवेशनबाट बझाङमा अधिकांश देउवा पक्षले जितेका छन् भने बाजुरामा पौडेल पक्ष बलियो देखिएको छ ।

बझाङमा पालिका अधिवेशनमा जिल्लाका १२ वटा पालिकामध्ये ६ वटामा निर्विरोध नेतृत्व चयन भएको थियो । ६ वटा पालिकामा निर्वाचन भएकोमा निर्वाचित पालिका सभापतिमध्ये ८ जना देउवा पक्ष र ४ जना पौडेल पक्षका छन् । मतदानमार्फत् निर्वाचन सम्पन्न भएका पालिकामा ४ जना देउवा र २ जना सभापति पौडेल पक्षकाले जितेको कांग्रेस जिल्ला उपसभापति ज्ञानबहादुर बोहराले बताए ।

यस्तै बाजुरामा सिटौला र पौडेल पक्ष संयुक्त प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि पालिकामा देउवा पक्ष कमजोर बनेको छ । ९ स्थानीय तह रहेको बाजुरामा सिटौला र पौडेल पक्षले ६ र देउवापक्षले ३ स्थानीय तहमा जितेको छ ।