यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट २ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका – १४, नख्खीपोट बस्ने वर्ष ३० को सुमन तामाङ र कुसुन्ती बस्ने वर्ष २३ को सुरज गुप्ता रहेका छन् ।
उनीहरुले लिखित परिक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाइनमा लागेका सर्वसाधारणलाई सास्ती दिने २ जना बिचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरि लिदै गरेको अबस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए ।
महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।