नेपाल–भारतबीच संयुक्त सैनिक अभ्यास पिथौरागढमा सम्पन्न

नेपाल–भारतबीच संयुक्त सैनिक अभ्यास पिथौरागढमा सम्पन्न

भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गुणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ ।

नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको अभ्यास यही असोज ४ देखि १६ गतेसम्म भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सैनिक युद्धकला, प्राकृतिक प्रकोप एवम् कोभिड–१९ महामारीजस्ता विपद्का बेला सुरक्षा फौजको भूमिकाको व्यावहारिक अभ्यासका साथै सहभागी फौजले आ–आफ्नो पेसागत अनुभवसमेत अभ्यासका क्रममा साटासाट भएको थियो ।

भारतीय सेना मध्य कमाण्ड सेनापति रथी एसएस महलद्वारा शनिवार अन्तिम प्रवचन भएको अभ्यास समापन समारोहमा नेपाली सेनाको मध्य कमाण्ड सेनापति उपरथी विनयविक्रम राणा, ३ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कुमारबाबु थापा तथा नेपाल र भारतका सैनिक सहचारीलगायत सहभागी रहेको सेनाले जनाएको छ ।

संयुक्त सैनिक अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन तथा सकल दर्जामा आधारभूत सैनिक सीपको विकास एवम् आपसी समझदारी बढाउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।