कैलाली प्रहरीद्धारा विभिन्न मुद्धाका ७ जना फरार व्यक्तिहरु पक्राउ

कैलाली प्रहरीद्धारा विभिन्न मुद्धाका ७ जना फरार व्यक्तिहरु पक्राउ

धनगढी । कैलाली प्रहरीले विभिन्न मुद्धाका सात जना फरार प्रतिवादी पक्राउ गरेको छ । आइतबार जिल्लाका विभिन्न स्थान बाट उनीहरुलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला कैलारी गाउँपालिका वडा नं. १ बस्ने बिनोद चौधरी रहेका छन् ।

जवजस्ती करणी गरेको अभियोगमा उनलाई कैलाली जिल्ला अदालतले ३ बर्ष ११ महिना ५ दिन कैद सजाय तोकेको थियो । त्यस पश्चात उनी २०७५ साल भाद्र २० गतेदेखि फरार रहेका थिए । त्यसैगरी अर्का जिल्ला साविक कोटातुल्सीपुर गाविस वडा नं. ४ हाल बर्दगोरिया गाउँपालिका वडा नं. ६ बस्ने २२ बर्षका अशोक चौधरी रहेका छन् ।

जबरजस्ती करणीको कसूरमा चौधरीलाई कैलाली जिल्ला अदालतले ३ बर्ष कैद सजायको फैसला गरेको थियो । उनी २०७२ साल असार २१ बाट फरार रहेका थिए । त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक विश्व अधिकारीका अनुसार लागू औषध मुद्दाका फरार प्रतिवादी धनगढी उप–महानगरपालिका वडा नं. १ बस्ने शत्रुजित जोशीलाई पनि पक्राउ गरिएको छ ।

कैलाली जिल्ला अदालतबाट लागू औषध मुद्दामा २०६६ साल बैशाख १२ गते पाँच सय जरिवाना भई फरार रहेका रहेका थिए । जोशीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

यसैगरी वन मुद्दाका फरार प्रतिवादीहरु धनगढी उप–महानगरपालिका १७ वस्ने १८ बर्षका अमन चौधरी, सोही ठाउँका २९ बर्षीय कृष्ण राना, १८ बर्षका अभिषेक चौधरी र ३० बर्षका बब्लु रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । उनीहरुलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाईएको कैलाली प्रहरीले जनाएको छ ।