एक महिनाको अवधिमा १० हजार विदेशी पर्यटक भित्रिए, कुन देशबाट कति ?

एक महिनाको अवधिमा १० हजार विदेशी पर्यटक भित्रिए,  कुन देशबाट कति ?

कोभिड महामारी कम हुँदै गएपछि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या पनि बढ्न थालेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ को सेप्टेम्बरमा विभिन्न मुलुकबाट नौ हजार आठ सय ९८ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

कोभिडको पहिलो लहर मत्थर भएसँगै सन् २०२१ को सुरुवातदेखि नै विदेशी पर्यटक आगमन बढिरहेको थियो । तर, वैशाखदेखि दोस्रो लहर फैलिन थालेपछि पर्यटक आगमनमा पुनः ब्रेक लागेको थियो । कोभिडका कारण मे, जुन, जुलाई र अगस्टसम्म सुस्ताएको पर्यटक आगमन सेप्टेम्बरदेखि बढ्न थालेको तथ्यांकले देखाउँछ । बोर्डका अनुसार मे महिनामा एक हजार चार सय ६८, जुनमा एक हजार एक सय ४३, जुलाईमा दुई हजार नौ सय ९१ र अगस्टमा पाँच हजार नौ सय १७ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

 कुन देशबाट कति ?
सेप्टेम्बर महिनामा इन्डियाबाट तीन हजार पाँच सय २३, चीनबाट दुई सय ३३, साउथ कोरियाबाट एक सय २१, फ्रान्सबाट दुई सय ३५, जर्मनीबाट दुई सय २५, युकेबाट चार सय ३८ र युएसएबाट एक हजार आठ सय ६४ पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा भित्रिएका कुल पर्यटकमध्ये साउथ एसियाली मुलुकबाट तीन हजार सात सय ३४, अन्य एसियाली मुलुकबाट पाँच सय ८५, युरोपेली मुलुकबाट एक हजार सात सय ३३, ओसियाना मुलुकबाट ८१ र अमेरिकी मुलुकबाट दुई हजार एक सय २५ रहेका छन् । 

कोभिड सुरु हुनुअघि सन् २०१९ को सेप्टेम्बरमा ९२ हजार ६ सय चार नेपाल भ्रमणमा आएका थिए । कोभिड सुरु भएपछि सन् २०२० को सेप्टेम्बरमा पाँच सय ८४ पर्यटक मात्र आएको देखिन्छ । यो वर्षको सेप्टेम्बरदेखि पुनः पर्यटक आगमन बढ्न थालेको बोर्डको तथ्यांकले देखाउँछ । नेपाली पर्यटन क्षेत्र फेरि पुरानै लयमा फर्किन अझै दुई–तीन वर्षभन्दा बढी समय लाग्ने आकलन पर्यटन क्षेत्रको छ । 

सन् २०२१ को जनवरीदेखि नै पर्यटक बढ्न सुरु भएकोमा दोस्रो लहर फैलिन थालेपछि सुस्ताएको थियो । सरकारले वैशाख १६ देखि असारसम्म निषेधाज्ञा जारी गरेको थियो भने नियमित हुने अन्तर्राष्ट्रिय उडानहरू सबै बन्द थिए ।