कैलाली नजिकको भारतीय बजारमा हिंसात्मक झडप, ४ किसानसहित ८ जनाको मृत्यु

कैलाली नजिकको भारतीय बजारमा हिंसात्मक झडप, ४ किसानसहित ८ जनाको मृत्यु

आइतबार भएको झडपमा ४ जना किसानसहित ८ जनाको मृत्यु भएपछि भारतको उत्तर प्रदेश राज्यको लखिमपुर खिरी तनावग्रस्त रहेको छ । आइतबार किसानहरूले उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको भ्रमणको विरोध गरिरहेका बेला एउटा जिपले अन्धाधुन्ध ठक्कर दिएपछि हिंसात्मक झडप सुरु भएको हो ।

भारतीय किसान युनियनका नेता राकेश टिकैतले कृषि कानुनको विरोधमा उत्रिएका किसानमाथि एक्कासि आक्रमण गरिएको दाबी गरेका छन् । लखिमपुर खिरीको तिकुनियामा केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्र टेनीका छोरा आशिष मिश्रको गाडीले कुल्चिँदा ४ जना किसानको मृत्यु भएको बताइएको छ ।

त्यस्तै झडपमा आशिषको जिपका चालक र ३ जना भारतीय जनता पार्टीका कार्यकर्ताको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सडकमा प्रदर्शन गरिरहेका बेला आशिषको जिपले ठक्कर दिएपछि आक्रोशित भएका किसान तोडफोडमा उत्रिएका थिए ।

उनीहरूले उक्त जिपमा आगो लगाइदिएका थिए । स्थानीय नागरिकका अनुसार मन्त्रीका छोरा खेततर्फ भागेर ज्यान जोगाएका थिए । त्यस्तै झडपमा १० भन्दा बढी किसान घाइते भएको बताइएको छ । केन्द्रीय गृहराज्यमन्त्री मिश्रले भने गाडीमा आफ्ना छोरा नभएको दाबी गरेका छन् । उनले ढुंगाले चालकलाई लागेकाले दुर्घटना हुन पुगेको दाबी गरेका छन् ।