कञ्चनपुरमा नौ महिनाको अवधीमा २१५ जना महिला तथा बालबालिकाहरूको उद्धार

कञ्चनपुरमा नौ महिनाको अवधीमा २१५ जना महिला तथा बालबालिकाहरूको उद्धार

कञ्चनपुर । माइती नेपाल कञ्चनपुरले विगत नौ महिना यता २ सय १५ जना महिला तथा बालबालिकाहरूको सीमा नाकाबाट उद्धार गरेको छ । माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले गड्डाचौकी नाकाबाट १ सय ६२ र दोधाराचांदनी झोलुङ्गे पुलबाट ५३ जनाको उद्धार गरिएको बताउनु भएको छ ।

त्यसै गरी भारतका विभिन्न शहरहरु   दिल्ली, मुम्बई, गोवा, देहरादुन र हलद्यवानी वाट ८ जना महिलाहरू र बालिकाहरूको उद्धार गरिएको बताउनु भयो ।

माइती नेपाल कञ्चनपुरले आज आयोजना गरेको सरोकारवाला सितको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराउँदै संयोजक भट्टले बढी महत्त्वाकाङ्क्षा र आधुनिक प्रविधिको दुरुपयोग गरी महिला तथा बालबालिकाहरूको बेचबिखन हुने गरेको बताउनु भएको छ ।

कार्यक्रममा सहभागीहरूले चेलीबेटी बेचबिखन जस्तो जघन्य अपराधहरूको नियन्त्रणका लागी माइती नेपाल मात्र नभई सबै स्थानीय सरकारहरू जिम्मेवारी बहन गर्नु पर्ने बताएका छन् । 

कोभिड सङ्क्रमणको समयमा सीमा नाका बन्द भए पनि विभिन्न बहानामा मानव बेचबिखन भने नरोकिएको सहभागीहरूले बताएका छन् । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, उच्च अदालत बार, जिल्ला बारका प्रतिनिधि र संघसंस्थाहरुको सहभागिता रहेको थियो ।