नौ जना नेपाली नियन्त्रण मुक्त

नौ जना नेपाली नियन्त्रण मुक्त

कञ्चनपुर: कञ्चनपुर बेलडाँडी गाउँपालिका–३ बैवाहबाट नियन्त्रणमा लिएका नौ जना नेपाली मंगलबार मुक्त भएका छन्। 

सोमबार बैवाहका स्थानीय बासिन्दाका दुई जोर राँगा भारतीयले चोरी गरेर लगेपछि नेपालीले पिछा गर्दै भारतीय क्षेत्रमा राँगा भेटाएपछि भारतीय मञ्जित सिंह, गुरुसेवक र सतनाथलाई कुटपिट गरेपछि उत्पन्न विवादले चर्को रुप लिएपछि ठूलो हुलमा आएका भारतीयले नेपाली बस्तीमा छिरेर नेपालीमाथि कुटपिट गर्दै १५ जनालाई नियन्त्रणमा लिई भारतको कम्पोजनगरतर्फ लगेका थिए। 

जसमध्ये छ जना भागेर नेपाल आउन सफल भए पनि अन्य नौ जनालाई भारतीयले कम्पोजनगरमा लगेर बन्धक बनाइराखेको स्थानीयवासी विमल धामीले बताए।  

उनीहरुलाई भारततर्फ लगेको खबर पाइएपछि बेलडाँडी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, प्रहरी लगायतको टोली कम्पोजनगर पुगेछि नेपालीहरु नियन्त्रण मुक्त भएका हुन्। 

मुक्त हुनेमा बैवाहका कालुराम चौधरी, भुवनप्रसाद चौधरी, चन्द्र चौधरी, बलराम चौधरी, रामु चौधरी, विष्णु चौधरी, मञ्जु चौधरी र सुरज चौधरी रहेका छन्। 

नेपालीले कुटपिट गरेका तीन जना भारतीयलाई औषधोपचार खर्चबापत भारतीय रु ३० हजार उपलब्ध गराएपछि नेपालीलाई छाडेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताए। 

'भारतीय सरपञ्च, प्रहरी, नेपाली जनप्रतिनिधि र प्रहरीको मध्यस्थतामा नेपालीहरुलाई छाडिएको छ', उनले भने। दिनभर सीमा क्षेत्रमा तनाव सृजना भए पनि अहिले अवस्था सामान्य रहेको बताइएको छ।