यस कारण ६ घण्टासम्म बन्द भयो फेसबुक ?

यस कारण ६ घण्टासम्म बन्द भयो फेसबुक ?

नेपाली समयानुसार सोमबार राति सवा ९ बजेदेखि विश्वभर आफ्ना सेवा  झन्डै ६ घण्टा अवरुद्ध हुनुको कारण फेसबुकले सार्वजनिक गरेको छ। 

फेसबुक कम्पनीका अनुसार आफ्नो राउटरमा गरिएको कन्फिग्रेसन परिवर्तनका कारण फेसबुकसहित, म्यासेञ्जर, इन्स्टाग्राम, ह्वाट्सएप र अकुलस भीआरको सेवा डाउन हुन पुगेको हो। 

फेसबुकले आफ्नो ब्लगमार्फत भनेको छ, ‘डेटा सेन्टरहरूबीचको नेटवर्क ट्राफिकमा ठूलो समस्या आउँदा हाम्रा सबै सेवा बन्द भएका हुन्।’ 

फेसबुकका आधारभूत पूर्वाधार (बेसिक इन्फ्रास्ट्रक्चर) उपाध्यक्ष सन्तोष जनार्दनले भनेका छन्, ‘नेटवर्क यातायातमा यो अवरोधले हाम्रो डाटा सेन्टरको सञ्चार गर्ने तरिकामा ठूलो असर पार्यो र हाम्रा सेवा बन्द भए।’

सामान्य अर्थमा फेसबुकका प्रविधिले एकअर्कासँग गर्नुपर्ने सम्पर्क विच्छेद हुँदा सेवा अवरुद्ध भएको बुझ्न सकिन्छ। यो फेसबुक कम्पनीका लागि सन् २०१९ देखि यताकै ठूलो अवरुद्धता हो। त्यस वर्ष पनि २४ घन्टाभन्दा बढी समय फेसबुकका सेवा डाउन भएका थिए।