सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा, ट्रफी र खेल तालिका सार्वजनिक

सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा, ट्रफी र खेल तालिका सार्वजनिक

धनगढी । धनगढीमा भोलीबाट सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार बुधवार उद्घाटन खेलमा कञ्चनपुर र अछाम आमनेसामने हुने भएका छन् । प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार असोज २३ गतेसम्म धनगढीमा आयोजना हुन गइरहेको हो ।

प्रदेशका ९ वटा जिल्लाका टिमहरूले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ।

प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५÷२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।