धनकुटाको पाख्रीवासमा आज दिउँसो गुडिरहेको बसबाट खस्दा सहचालकको ज्यान गएको छ ।
भोजपुरबाट धरानतर्फ जाँदै गरेको बा.२ ख ५८४० नम्बरको बसबाट खस्दा त्यही बसका सहचालक भोजपुर नगरपालिका–११ आम्तोकका १७ वर्षीय धनबहादुर पाठकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरक्षिक डीएसपी दीपककुमार रायले बताउनुभयो ।
पाख्रीवास नगरपालिका–४ रिङकिङ डाँडामा गुडिरहेको बसको ढोकाबाट खसेर गम्भीर घाइते हुनुभएका पाठकलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको हो । मृत्तकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।
मृत्तकका आफन्तलाई खबर गरी सकिएको र भोलि पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । घटना पछि बस र चालक भोजपुरको अरुण गाउँपालिका–७ का ३५ वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।