राष्ट्रिय जनमोर्चाको धनगढीमा प्रदर्शन, संघीयताको भार नेपाली जनताको टाउकोमा थुप्रिँदै गएको नेता केसीको भनाई

राष्ट्रिय जनमोर्चाको धनगढीमा प्रदर्शन, संघीयताको भार नेपाली जनताको टाउकोमा थुप्रिँदै गएको नेता केसीको भनाई

धनगढी । संघीयता खारेजी लगायतका माग गर्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले धनगढीमा प्रदर्शन गरेको छ । 

बुधवार राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा धनगढीको ट्राफिक चौराहा देखी पार्क मोड सम्म गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ संघीयता खारेज गरौँ, एमसीसी, भ्रष्टाचार, महँगीका विरुद्ध सङ्घर्ष गरौँ भन्ने नारा सहित विरोध र्‍यालीको आयोजना गरिएको हो ।

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित उक्त रयाली पार्क मोडमा सम्बोधन सभामा परिणत भएको थियो । सो क्रममा राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै संघीयताको भार नेपाली जनताको टाउकोमा थुप्रिँदै गएको बताउनु भयो । 
उहाँले,  ''यो संघियताले गर्दा नेपाली जनता साह्रै चिढिएको छ । संघीयताको भार नेपाली जनताको टाउकोमा बढिरहेको छ । नेपाली जनता सँग रोजगारी छैन, बिरामी हुँदा औषधि छैन । अन्याय हुँदा न्याय पाउन घुस खुवाउन पैसा छैन । यस्तो बेला नेपाली जनताका आवश्यकता छोडेर पनि नेपाली जनताले सात, सात ठाउँमा सात प्रदेशमा सांसद पाल्नु परिरहेको छ । सात ठाउँमा मन्त्रीमण्डल पाल्नु परेको छ । प्रदेश पति पाल्नु परेको छ । कति खर्च लाग्छ ? यस्तो भिक मगा मुलुकले, चाडबाडको मतलब नगरी विदेश गएका युवाले पठाएको रेमिटेन्सबाट चल्ने देशले यत्रा मन्त्री हरू तिनले लिने सेवा सुविधाहरू दिन सम्भव छ ? रिन काढेर घिउ पिउने हो ?'' भन्दै प्रश्न गर्नुभयो । 

उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसी, महा-सचिव मनोज भट्ट, सुदूरपश्चिम प्रदेश संयोजक भट्ट लगायत पार्टीका विभिन्न जिल्लाका पदाधिकारी तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।