टेक्सासको गर्भपतन सम्बन्धी कानूनमा रोक

टेक्सासको गर्भपतन सम्बन्धी कानूनमा रोक

अमेरिकाका एक संघीय न्यायाधीशले टेक्सासको गर्भपतन सम्बन्धी नयाँ विवादास्पद कानुनमाथि रोक लगाएका छन् । युएस डिस्ट्रिक जज रोबर्ट पिटम्यानले बाइडेन प्रशासनको आग्रहअनुसार यस्तो निर्णय गरेका हुन् ।

जसअनुसार वैधतामाथि चुनौती सामना गरिरहेको  कुनै पनि कानून कार्यान्वयनमा जान सक्दैन । यसअघि टेक्सास राज्यले गर्भ बसेको ६ हप्तापछि गर्भपतन गर्न नपाइने कडा कानून ल्याएको थियो । टेक्सास राज्यका जनप्रतिनिधिहरुले यस कानून पारित गरिसकेका छन् । त्यसपछि १ सेप्टेम्बरदेखि यो कानून लागू भएको थियो ।

तर, यसविरुद्ध अमेरिकाका विभिन्न स्थानमा कडा प्रदर्शन भइरहेको छ । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले न्यायाधीश पिटम्यानको फैसलालाई टेक्सासका महिलाहरुको संवैधानिक अधिकार पुनःस्थापनामा महत्वपूर्ण कदम भनेको छ ।

‘संविधानले उपलब्ध गराएको अधिकारलाई आफ्नो जीवनमा प्रयोग गर्नबाट महिलाहरुलाई अवैधानिक ढंगले नियन्त्रण गर्ने अभ्यास गरिएको छ’ यस काूननबारे पिटम्यानले १ सय १३ पृष्ठ लामो फैसलामा भनेका छन् ।  कानून लागू भएयता टेक्सासले पहिलोपटक संवैधानिक अड्चन सामना गर्नुपरेको हो ।

राज्यका अधिकारीहरुले पिटम्यानको आदेशविरुद्ध अपिल गर्ने अपेक्षा गरिएको छ । यसअघि राष्ट्रपति जो बाइडेनले यस कानूनलाई महिला अधिकारमा ‘अनपेक्षित हमला’ भनेका थिए । तर, टेक्सासका गभर्नर ग्रेग एबोट्टले कानूनको रक्षार्थ बोलेका थिए । ‘जीवन आफैंमा सबैभन्दा मूल्यवान स्वतन्त्रता हो’ उनले भनेका थिए ।