एभरेस्ट प्रिमियर लिग : पोखरालाई जितका लागि १२० रनको मध्यम लक्ष्य

एभरेस्ट प्रिमियर लिग : पोखरालाई जितका लागि १२० रनको मध्यम लक्ष्य

कप्तान शरद भेषावकरको अविजित ३२ रनप्रेरित भैरहवा ग्लाडियटर्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटको दोस्रो क्वालिफायर्समा पोखरा राइनोजलाई जितका लािग १२० रनको लक्ष्य दिएको छ ।बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनायो ।

भैरहवाले ९.५ ओभरमा ५१ रन बनाउँदा पाँच विकेट गुमाएको थियो । त्यसपछि शरदले आरिफ शेखसँग छैटौँ विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । आरिफले २७ रन बनाए । त्यसपछि शरदले धम्मिका प्रसादसँग सातौँ विकेटका लागि २७ रनको अविजित साझेदारी गरेका थिए ।

शरदले ३३ बलमा दुई चौका र एक छक्कासहित अविजित ३२ रन बनाए । ओपनर रोहितकुमार पौडेलले १८, प्रदीप ऐरीले ११ र उपुल थरंगाले १० रन जोडे ।पोखराका किशोर महतो र सहन राचिगेले समान दुई विकेट लिए भने नन्दन यादव र एसेला गुनरत्नेले एक/एक विकेट लिए । विजयी टोलीले फाइनलमा चितवन टाइगर्सविरुद्ध खेल्नेछ ।