घोडाघोडी-६ मा अस्थाई प्रहरी पोष्ट स्थापना, वडा अध्यक्षद्वारा मोटरसाइकल हस्तान्तरण

घोडाघोडी-६ मा अस्थाई प्रहरी पोष्ट स्थापना, वडा अध्यक्षद्वारा मोटरसाइकल हस्तान्तरण

घोडाघोडी । कैलालीको घोडाघोडीमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । 

बिहीबार नगरपालिकाको वडा नम्बर ६ स्थित प्रतिखेतमा प्रहरी पोष्ट उद्घाटन गरिएको हो । सो अस्थाई प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी परिचालन हुने भएका छन् । 

उद्घाटन कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विनोद विश्वकर्माले अध्यक्षता गर्नुभएको थियो ।  उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद अमर बहादुर साउँद, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी, घोडाघोडी नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख, अन्य वडा अध्यक्षहरू तथा सरोकारवालाको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रहरी र स्थानीयवासीको समन्वय र सहकार्यमा समाजमा हुने विभिन्न गलत क्रियाकलाप नियन्त्रण गर्न सकिने प्रस्ट पार्दै समाजमा हुने गरेका गलत, गैर कानुनी कार्यबारे प्रहरीलाई सूचना दिएर सघाउन र 'हाम्रा प्रहरी हामी सँग' छन् भनी ठान्न आग्रह गर्नुभएको छ । 

यस्तै, कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले यस ठाउँमा हुने अपराधका घटनाहरू र प्रहरी बाट हुने कमी कमजोरीहरूको सूचना दिन सर्वसाधारणहरूलाई आग्रह गर्नुहुँदै अस्थायी प्रहरी पोष्ट स्थापना भए पछि त्यसलाई सुविधा सम्पन्न गर्न र स्रोत साधनले सम्पन्न गर्नको लागी स्थानीय र प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । 

यसै गरी कार्यक्रममा आफ्नो नगरपालिकाको तर्फबाट भनाई राख्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले  प्रहरी पोष्टलाई क्षमता वान र स्रोत साधन सम्पन्न गर्नको लागी नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । 

त्यस्तै, जनतालाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यका साथ स्थापना गिरिएको उक्त अस्थायी प्रहरी पोष्टको उद्घाटन कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सांसद अमर बहादुर साउँदले प्रहरीको पहुँचले गर्दा समाजमा हुने नकारात्मक क्रियाकलापहरूमा कमी आउने विश्वास व्यक्त गर्नुभएको छ ।  विकट ठाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना भएकामा खुसी व्यक्त गर्दै उहाँले यसको स्तर उन्नतिको लागी प्रदेश सरकारले आवश्यक पहलकदमी गर्ने बताउनुभएको छ । 

साथै, उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुभएका घोडाघोडी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विनोद विश्वकर्माले अस्थायी प्रहरी पोष्ट स्थापना भएकोमा खुसी व्यक्त गर्दै स्थापनाको लागी सहयोग पुर्‍याउनु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । वडा अध्यक्ष विश्वकर्माले प्रहरीलाई दैनिक गर्ने कार्यसम्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रहरी कार्यालय तथा सरोकारवाला निकायबाट सो प्रहरी पोष्टलाई सवारी साधन उपलब्ध नहुन्जेल सम्म डिउटिमा खटिने प्रहरीको प्रयोगको लागी आफूले प्रयोग गर्दै आइरहेको मोटरसाइकल समेत अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरी सहायक निरीक्षक लाई हस्तान्तरण गर्नुभएको छ ।
 
आफ्नो वडामा प्रहरी पोस्टको स्थापना भएकोमा स्थानीयले खुसी व्यक्त गर्दै प्रहरीको उपस्थितिले सुरक्षाको महसुस हुने विश्वास व्यक्त गरेका छन् ।