बडा दशैँको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

बडा  दशैँको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

दशैँको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।

ब्रह्मचारिणी देवीको पूजा आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भइ ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराइ व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने भनिएको छ।

ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । नवरात्रका नौ दिनमा पहिलो दिन हिजो शैलपुत्रीको पूजा गरिएको थियो । दोस्रो दिन आज ब्रह्मचारिणी तेस्रो दिन भोलि चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैँ पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ।