बेलायतले नेपाललाई हवाई यात्राको रातो सूचीबाट हटायो

बेलायतले नेपाललाई हवाई यात्राको रातो सूचीबाट हटायो

बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो । आउँदो सोमवारदेखि लागू हुने गरी बेलायतले नेपाललाई रातो सूचीबाट हटाएको हो । 

रातो सूचीबाट हटेसँगै कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएकाहरु बेलायत जाँदा अनिवार्य होटल क्वरेण्टीनमा बस्नु पर्ने छैन । रातो सूचीमा हुँदा बेलायतले तोकिदिएको होटलमा १० दिन क्वरेण्टीनमा बस्नै पर्ने बाध्यता थियो । 

अब होम क्वरेण्टीनमा बस्दा हुनेछ । कोरोना महामारीका कारण बेलायतले नेपालसहित विश्वका धेरै देशलाई रातो सूचीमा राखेको थियो ।

दशैँ तथा तिहारको मुखैमा नेपाललाई रातो सूचीबाट हटाए पछि ट्राभल व्यवसायीहरू पनि उत्साहित भएका छन् । अब बेलायतले मान्यता दिएको कोभिड विरुद्धको दुवै मात्रा खोप लगाएकालाई होटेल क्वरेण्टीनमा बस्नु नपर्ने लण्डनका ट्राभल व्यवसायी विराज भट्टले बताउनुभयो । तर अझै पनि यात्रुहरूले निगेटिभ पीसीआर रिपोर्ट भने देखाउनुपर्छ । 

त्यसैले यात्रा गर्नुभन्दा पहिला बेलायत सरकारले जारी गरेको नियम पढेर वा आफ्नो ट्राभल एजेन्टसँग राम्रोसँग बुझेर मात्रै यात्रा गर्न उहाँको सुझाव छ ।

बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डका एसोसियट डिन तथा विश्व जनस्वास्थ्य विषयका प्राध्यापक डा। पदम सिम्खडाका अनुसार अब नेपाललाई रातो सूचीबाट हटाइएकाले नेपालबाट विद्यार्थीहरू जान र अनुसन्धानसम्बन्धी कामका लागि बेलायती अनुसन्धानकर्ताहरू नेपाल आउन सजिलो हुने भएको छ ।

बेलायतले अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, मोडेर्ना र जोनसोन एण्ड जोनसोनको खोप लगाएकालाई आफ्नो देश प्रवेशमा अनुमति दिएको छ । नेपालबाट बेलायत जाँदा खोप लगाएको प्रमाण पेस गर्नुपर्ने छ। 

लण्डनमा रहेको नेपाली दूतावासले बेलायतले नेपाललाई रातो सूचीबाट हटाएकोमा धन्यवाद दिएको छ । नेपाललाई रातो सूचीबाट हटाउन दूतावासले बेलायत सरकारसँग आग्रह गर्दै आएको थियो ।

बेलायतले अझै पनि पानामा, पेरु, कोलम्बिया, भेनेजुएला, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकलाई भने रातो सूचीमा नै राखेको छ ।