महाकालीमा बेपत्ता भएका भीमदत्तका २२ बर्षिय युवक मृत फेला

महाकालीमा बेपत्ता भएका भीमदत्तका २२ बर्षिय युवक मृत फेला

महेन्द्रनगर : महाकाली नदिमा नुहाउने क्रममा बेपत्ता भएका  भीमदत्त नगरपालिकाका २२ बर्षिय युवक मृत फेला परेका छ्न।दुई दिनअघि महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका भीमदत्तनगरपालिका १२ ऐरीका सुनिल विष्ट शुक्रबार झोलुंगे पुल नजिकै मृत भेटिएका हुन् ।

 बुधबार साँझ भाइरल रोड नजिकै महाकाली नदीमा नुहाउने क्रममा बिष्ट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । प्रहरीलाई बिहिबार मात्रै जानकारी आएपछि
बिहिबार दिउसैदेखि प्रहरीले बिष्टको खोजी गरिरहेको थियो । बुधबार दिउँसो विष्ट घरबाट श्रीमतीलाई महेन्द्रनगर बजार छोड्न निस्केका थिए ।  ऐरी चौराहाबाट श्रीमतीलाई अटोमा बसाएर उनी महाकालीतर्फ लागेका थिए । उनको शव वडा ११ र १२ को सिमाना पर्ने महाकाली नदीमा फेला परेको हो ।

मृतक आफन्तका अनुसार छिमेकी साथी प्रेम भट्टले बेलुका ५ बजे पछि महाकालीमा नुहाउन जान भन्दै बोलाएको खुलेको छ । श्रीमतिलाई महेन्द्रनगरका लागि अटो रिक्सामा बसाएपछि साथी भट्टसंगै महाकाली नदी तर्फ गएका थिए ।

प्रहरीले प्रेम भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । उनले संगै नुहाउन गएको प्रहरीलाई प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।