इपिएल : उपाधिका लागि आज चितवन र पोखरा भिड्दै, कस्ले मार्ला बाजी ?

इपिएल : उपाधिका लागि आज चितवन र पोखरा भिड्दै, कस्ले मार्ला बाजी ?

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा आज चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दै छन्। दुवै टिम यो संस्करणमा पहिलो पटक उपाधिको खोजिमा हुने छन्।

शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन आफ्नो पोखराविरुद्धको रवाफ कायम राख्ने ध्याउनमा हुँदा पोखरा भने चितवनसँग बदला लिंदै उपाधि चुम्ने दाउमा छ। फाइनल खेल १२:१५ मा सुरु हुने छ।

दुवै टिमले यसअघि जारी प्रतियोगितामा एक अर्का विरुद्ध दुई पटक प्रतिस्पर्धा गर्दा दुवैमा चितवन विजयी भएको थियो। पछिल्लो पटक भएको पिहलो क्वालिफायरमा चितवनले प्रभावशाली जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो। यद्यपि‚ पोखराले दोस्रो क्वालिफायरमा भैरहवालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

यी दुई टिमबीचको फाइनल भिडन्तले ३५ लाखको छिनोफानो गर्ने छ। विजेताले ५० लाख प्राप्त गर्दा उपविजेताले केवल १५ लाख रुपैयाँ मात्रै पाउने छ। त्यसैले दुवै टिमको यो एक खेल ३५ लाखको लडाइँका रुपमा रहने छ। र दुवैको लक्ष्य च्याम्पियन बन्ने हुने छ।

चितवनका कप्तान सोमपाल फाइनलमा आफ्नो टिमले विगत नहेर्ने बताए। उनले भने ‘फाइनल खेल हो तर फाइनल भन्दा पनि एउटा खेलको रुपमा यसलाई लिन्छु।’ उनले फाइनलको प्रेसर लिएरभन्दा पनि आफूलाई प्रमाणित गर्ने हिसाबले प्रतिस्पर्धा गर्ने बताए।

पोखराका कप्तान विनोद भण्डारीले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने बताए। उनले भने ‘फाइनल खेलमा लिगमा के भएको थियो भन्ने कुराको महत्व हुँदैन। जुन टिमले राम्रो खेल्ने त्यहिँ टिमले जित्छ।’ उनले फाइनलमा पुगेका दुवै टिमले राम्रो प्रदर्शन गरेका कारण सम्भव भएको भन्दै टीमले जतिसक्दो राम्रो खेल्ने प्रयास गर्ने बताए।