आज हुलाक दिवस : हुलाकको अस्तित्व सङ्कटमा

आज हुलाक दिवस : हुलाकको अस्तित्व सङ्कटमा

आज विश्व हुलाक दिवस मनाइँदै छ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्त्व बुझाउँदै हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइँदै आएको छ । 

हुलाकलाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिइन्छ । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता लिएसँगै हुलाक दिवस मनाउन थालिएको हो । तर, सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने पछिल्लो समय सङ्कटमा परेको छ । 

नेपालमा १९३५ सालदेखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पुर्याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व  जोखिममा परेको हो । 

एक दशकअघिसम्म आमनागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पुर्याउने काममा मात्र साँघुरिएको हुलाकका कर्मचारी बताउँछन् । 

जिल्ला हुलाक कार्यालय म्याग्दीमा २० वर्षभन्दा बढी सेवा गरी अहिले सेवानिवृत्त हुनुभएका झकबहादुर थापा एक दशकअघिसम्म चिठीपत्रको चापका कारण काम गर्न  भ्याइनभ्याइ हुने हुलाक अहिले सरकारी कार्यालय तथा संस्थाका पत्र र विदेशबाट आउने व्यक्तिगत सामानको काम गरेर आफ्नो अस्तित्व बचाइरहेको बताउनुहुन्छ ।  सूचना प्रविधिले इन्टरनेटको विकास गरेपछि विश्वलाई नै एउटा गाउँमा परिणत गरिदिएको र यसले दूरसञ्चारमा समेत चुनौती थपिएको उहाँको भनाइ छ ।

सूचना प्रविधिको पहुँचका कारणले सेकेण्ड–सेकेण्डमा सूचना पाउने भएपछि चिठीपत्र र हुलाक सेवा दुवैको औचित्य घटेको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख साधनाकुमारी श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार हुलाक सेवा विश्वमै भरपर्दो सञ्चार सेवा भएका कारण संयुक्त राष्ट्रसङ्घको अङ्गकै रुपमा विश्व हुलाक सङ्गठन स्थापित छ तर, पछिल्लो समय हुलाक सेवा नेपालमा मात्र नभइ विश्वमै सङ्कटोन्मुख अवस्थामा पुगेको छ । हुलाकलाई आधुनिकीकरण गर्न सरकारका तर्फबाट पनि कुनै पहलकदमी नहुँदा हुलाक सेवाको औचित्य स्थापित हुन नसकेको जानकारले बताएका छन् । 

हुलाक बचत बैंकलाई सरकारले आर्थिक वर्ष २०७५/०७६ बाट खारेज गरेसँगै हुलाकको अस्तित्व झन सङ्कटमा परेको कतिपयको बुझाइ छ । सरकारले हुलाक बचत बैंकको खारेजी गरेसँगै यस बैंकमा जम्मा भएको रकम खातासहित राष्ट्रिय वाणिज्य बैंकमा सारेको थियो ।