काँग्रेसको प्रतिनिधिमण्डल र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

काँग्रेसको प्रतिनिधिमण्डल र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ ।

उत्तर प्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको सो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले राससलाई जानकारी दिनुभयो ।

त्यस क्रममा आफूहरूले नेपाल–भारत सम्बन्ध द्विपक्षीयसहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृतिक ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा कुरा उठाएको जानकारी डा महतले दिनुभयो । 

भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताउनुभयो । मुख्यमन्त्रीले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको जनाउँदै नेपाल र नेपालको राष्ट्रियता बलियो हुनुपर्छ र मात्र यसमा भारतको हित छ भन्नुभएको डा महतले जानकारी दिनुभयो ।

त्यस भेटका क्रममा आफूले बनारसमा रहेको नेपाली मन्दिर हिन्दु करिडोर निर्माणका क्रममा विस्थापित हुनु सक्ने विषयमा चासो राखेको र मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा आफूले निर्देशन दिइसकेको जानकारी पनि दिनुभएको डा महतले बताउनुभयो ।

भारतीय जनता पार्टीको निमन्त्रणामा तीन दिनअघि भारत गएको डा महत नेतृत्वको सो प्रतिनिधिमण्डलमा काँग्रेसका नेता द्वय उदयशमशेर राणा र अजय चौरसिया हुनुहुन्छ । आजको भेटमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर हुनुहुन्थ्यो ।