एभरेष्ट प्रिमियर लिग फाइनल : चितवनलाई पोखराले दियो ११२ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग फाइनल : चितवनलाई पोखराले दियो ११२ रनको लक्ष्य

पोखरा राइनोजले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा चितवन टाइगर्सलाई १ सय १२ रनको लक्ष्य दिएको छ । चितवनले टस जितेपछि ब्याटिङमा आएको पोखराले १७.५ ओभर खेली १ सय ११ रनमा अलआउट भयो ।

पोखरालाई रिचर्ड लेभी र विपिन रावतले राम्रो सुरुआत दिलाएका थिए । तर करिम जन्नतको बलमा लेभीलाई दीलिप नाथले उत्कृष्ट क्याच गरेपछि पोखराको पतन सुरु भएको थियो । लेभीले १५ बल खेली ५ चौकासहित २६ रन बनाए । १५ बल नै विपिनले १ चौका र १ छक्का प्रहार गरी १७ रन बनाए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्यसपछि रित गौतम र सहान अराचिगे समान २ रनमै आउट भए । असेला गुनारत्नेले ३४ रन जोडे । उनले २४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । विवेक यादव ४, लोकेश बम शून्य, विक्रम सोब १, नन्दन यादव शून्यमा आउट भए ।

कप्तान विनोद भण्डारी आउट हुने अन्तिम खेलाडी थिए । उनले २६ बलमा २२ रन बनाए । उनले २ चौका प्रहार गरेका थिए । चितवनका कमलसिंह ऐरीले ४ विकेट लिए । उनले ३.५ ओभरमा २० रन खर्चे ।

करिम जन्नतले ३ ओभरमा १५ र सेकुगे प्रसन्नले ३ ओभरमा १३ रन खर्चेर २/२ तथा सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए ।