बस दुर्घटना हुँदा अछामका एक जनाको मृत्यु, नौ जना घाइते

बस दुर्घटना हुँदा अछामका एक जनाको मृत्यु, नौ जना घाइते

दैलेखमा बस दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । नाै जना घाइते भएका छन् ।

सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको ना ६ ख ९२२ नम्बरकाे यात्रुवाहक बस दैलेखको दुल्लु नगरपालिका-१ मा पर्ने दरबारे भीर नजिक दुर्घटना हुँदा अछाम पञ्चदेवल नगरपालिका–९ का ७४ वर्षीय भक्तबहादुर शाहीकाे ज्यान गएकाे हाे । 

गएराति ब्रेक फेल भएर बस सडकको भित्तामा ठोक्किएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिनुभयो । तल्लोडुङ्गेश्वर प्रहरी चौकीको टोलीले दुर्घटनामा घाइते भएका ९ जनालाई गएराति नै स्थानीय मेडिकलमा उपचार गराएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक नेत्र बुढाले बताउनुभयो । 

बसका यात्रुहरुले भने अलपत्र पारिएको भन्दै प्रदर्शन गरेका छन् । यात्रुहरुलाई वैकल्पिक गाडीकाे प्रबन्ध गरी गन्तव्यसम्म पुर्याउन पहल भइरहेको जिल्ला प्रहरी दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।