उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। हमालले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।
उनी शुक्रबार मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।
मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताएका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार राजीनामा बुझाउँदै हमालले भनेका छन्, ‘संविधान र कानूनी राज्यका पक्षमा लामो लडाइँ लड्दै आएको व्यक्ति भएकाले अहिले संविधानमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्दा पदमा बसिरहन उपयुक्त लागेन ।’