वामपन्थी अगुवा श्रेष्ठको निधन

वामपन्थी अगुवा श्रेष्ठको निधन

नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको शनिबार ८७ वर्षको उमेरमा निधन भएको छ।

श्रेष्ठका हितैषी एवं वाम आन्दोलनका अगुवा सोनाम साथीका अनुसार, श्रेष्ठको आज दिउँसो १ः४० मा आफ्नै निवास शङ्खमूलमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत माघ १८ गते श्रेष्ठलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । सामान्य सुधारपछि उनलाई केही दिन पहिले निवासमा फिर्ता ल्याइएको थियो । 

श्रेष्ठको पार्थिव शरीरमा मोहन वैद्य ’किरण’, रामबहादुर थापा बादल, झलनाथ खनाल, देव गुरुङ, सोनाम साथी, पम्फा भुसाल लगायतले श्रद्धाञ्जली प्रकट गरेका थिए । 

श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीको लागि नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को पार्टी कार्यालय बुद्धनगर लगिएको थियो । श्रेष्ठ पछिल्लोसमय उक्त पार्टीको सल्लाहकार थिए ।

पार्टीले एक शोक विज्ञप्ति प्रकाशित गर्दै श्रेष्ठको निधनले जनवादी तथा कम्युनिष्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको उल्लेख छ ।

श्रेष्ठको आजै आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

श्रेष्ठले ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओ त्से तुङका चुनिएका रचना (भाग–१)’, ‘लेनिनवादका आधार’, ‘माक्र्सवाद र जातीय सवाल’लगायत माक्र्सवादी पुस्तकको अनुवाद गरेका छन् । 

दर्जनौँ मौलिक माक्र्सवादी कृति र दर्जनौँ अनुदित माक्र्सवादी दर्शन साहित्य रचना गरेका श्रेष्ठको ‘कार्ल माक्र्स : व्यक्तित्व र कृतित्व’, ‘ऐतिहासिक भौतिकवाद’ ,‘अतिरिक्त मूल्यको सिद्धान्त’, ‘माक्र्सवाद चिनारी पुस्तकमाला’ जस्ता माक्र्सवादी दर्शनका विभिन्न घटकबारे लेखिएका दर्जनौँ कृति छन् ।

पञ्चायतकालको चर्चित पत्रिका ‘रातो युगधारा’मा पनि श्रेष्ठ आबद्ध थिए । निधनपूर्व उनी आफ्ना अप्रकाशित कृतिहरुको प्रकाशनप्रति चिन्तित देखिन्थे ।  श्रेष्ठले लामोसमयदेखि नेपालका कम्युनिस्ट पार्टीको एकताको मुद्दा उठाइरहेका थिए ।