कालापानी क्षेत्रमा जनगणना गर्न अनेरास्ववियु क्रान्तिकारीको माग

कालापानी क्षेत्रमा जनगणना गर्न अनेरास्ववियु क्रान्तिकारीको माग

दार्चुला । दार्चुलाको लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रमा जनगणना गर्न माग गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन पत्र बुझाउँदै लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रमा जनगणना गर्न माग गरेको हो ।

अहिले देशका विभिन्न ठाउँमा ''मेरो गणना, मेरो सहभागिता'' भन्ने मुल नारा सहित जनगणनको काम जारी रहेको छ । तर सुरक्षाको कारण देखाउँदै लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रमा जनगणनाको कार्य भएको छैन् ।

राज्यले आफ्नो भु–भागमा बसोबास गरिरहेका नागरिकहरुको जनगणना बारे देखाएको उदासीनता प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी दार्चुलाका अध्यक्ष भुवन जोशीले जानकारी दिए । उक्त क्षेत्रमा भौतिक रुपमा उपस्थित भएर जनगणना गर्न नसकिने अवस्था भए अन्य वैकल्पिक विधिबाट जनगणना गर्न माग गरिएको छ ।

यो क्षेत्रमा २०१८ साल पछि जनगणना हुन सकेको छैन् । यता जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेका अनुसार अहिले सुरक्षा उपस्थिती नभएको कारण यो क्षेत्रमा गणना सम्भव छैन ।

‘अहिले हाम्रो राज्यको उपस्थित जहाँसम्म छ, त्यहाँसम्म मात्रै जनगणना हुन्छ,’ उनले भने । नेपाल सरकारले उपभोग गर्न नसकिरहेको र नेपाल सरकारको प्रशासनिक तथा सैनिक उपस्थिति नभएको ठाउँमा सुपरीवेक्षक पठाउन सम्भव नरहेको पाण्डेको भनाई छ ।