टुँडिखेलमा फूलपाती बढाइँ : राष्ट्रपति सरिक हुने

टुँडिखेलमा फूलपाती बढाइँ : राष्ट्रपति सरिक हुने

नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गर्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुहुनेछ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । यो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ ।

सैनिक हेलिकप्टरले पुष्पवृष्टि साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुनेछ  । कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण यसपालि पनि  फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो गर्ने तयारी छ ।  

समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।