धनगढीको वनदेवी लगायतका शक्ति पीठहरू मा पनि भक्तजनको भिड

धनगढीको वनदेवी लगायतका शक्ति पीठहरू मा पनि भक्तजनको भिड

धनगढी । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्।
बडादशैंको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ।

यसै कारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो। आजैका दिन राति कालरात्रिका रूपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ। यसैबिच धनगढीको वनदेवी मन्दिर परिसरमा बिहानै देखि बलि दिने र दर्शन गर्ने भक्तजनहरुको भिड लागेको छ ।