धनगढी । सुदूरपश्चिममा आजदेखि क्यु फ्रीमा सवारीसाधन सञ्चालन गरिएको छ। यातायात प्रालीहरुले नियमित रुपमा रुटअनुसार सवारी सञ्चालन नगरी आजदेखि तीन दिन सम्मका लागि क्यु फ्रीमा गाडी सञ्चालन गरेका हुन्।
लामो दुरीमा तीन र छोटो दुरीमा भोलिदेखि दुई दिनसम्म क्यु फ्रीमा गाडी सञ्चालन हुने यातायात प्रालिहरुले बताएका छन्। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले रुटअनुसार सवारी सञ्चालन नभए पनि यात्रुहरुको सुविधाका लागि क्यु फ्रीमा गाडी चलाउने जानकारी दिए। ‘लामो दुरीमा आज, भोली र पर्सी तथा छोटो दुरीमा भोलि र पर्सी क्यु फ्रीमा गाडी सञ्चालन गरिनेछ ।
खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले क्यु फ्रीमा सवारी सञ्चालन भएको बताउदै भने, ‘क्यु फ्रीमा यात्रुलाई हैरानी दिने व्यवसायी, चालक तथा सहचालकलाई कारबाहीको दायरामा ल्याइनेछ।’ विगतमा पनि यातायात व्यवसायीहरुले चाडपर्वका बेला क्यु फ्रीमा गाडी चलाउँदै आएका थिए। तर क्यु फ्रीका नाममा व्यवसायीहरुले मनोमानी गर्दा यात्रुहरुले सास्ती खेप्नुपर्ने समस्या रहेको थियो। क्यु फ्रीमा यात्रुहरुबाट बढी भाडा असुल्ने र यातायात व्यवसायीले बिच बाटोमै अलपत्र छाड्ने गरेको आरोप लागेको थियो।
यता प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले राजमार्ग क्षेत्रमा चेकजाँच बढाइएको दावी गर्दै क्यु फ्रीका नाममा यात्रुलाई दुःख दिनेलाई कानूनी कारबाही हुने बताए।