वडादसैंको महाअष्ठिमीका दिन डोटीका शक्तिपीठमा भक्तजनको घुइँचो

वडादसैंको महाअष्ठिमीका दिन  डोटीका शक्तिपीठमा भक्तजनको घुइँचो

डोटी । हिन्दू नेपालीहरूको महान् चाड वडादसैंको महाअष्ठिमीका दिन जिल्लाका विभिन्न मठमन्दिर तथा शक्ति पीठहरुमा आज भक्तजनको घुइँचो लागेको छ ।

यहाँका ऐतिहासिक मन्दिर, शैलेश्वरी, कालिका, निरौली भगवती, दिपायल भगवती, सालमुनि मन्दिरलगायत ठाउँमा भक्तजनको घुइँचो लागेको छ । यहाँका भगवती मन्दिरमा बिहानदेखि पशुबलि लगायतका बलि दिने भक्तजनको भीड लागेको छ ।

जिल्ला सदरमुकाम सिलगढीस्थित प्रसिद्ध मन्दिर शैलेश्वरी छेउमा रहेको कालिका मन्दिरमा भक्तजनको निकै बाक्लो भीड लागेको छ । मानिसहरुका इच्छा आकाङ्क्षा पूरा गर्न, भाकल पूरा गर्न र धार्मिक आस्थाले पनि भक्तजन मठमन्दिर पुग्ने गर्दछन् ।

दसैँ सुरु भएसँगै देशविदेशबाट जिल्ला आइपुगेका स्थानीयवासी पनि यहाँका शक्ति पीठ तथा मन्दिर पुग्ने गरेका कारण जिल्लामा चहलपहल पनि निकै बढेको शिखर नगरपालिका–२ कालागाढका स्थानीयवासी रमेश बोगटीले बताए ।

“गत पर्व कोरोनाले खासै चहलपहल तथा भक्तजन मठमन्दिरमा आएका थिएनन्, यो वर्ष कोरोना खासै नभएका कारण अहिले पशु बलि दिने तथा पूजा गर्न आउने भक्तजनको भीड लागेको छ,” उनले भने । 

दुर्गा पक्ष सुरु भएसँगै यहाँका शक्ति पीठमा भक्तजनको चहलपहल एकाएक बढेको छ । गत वर्ष दुर्गा पक्ष सुरु भएका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले र स्थानीय प्रशासनले मठ मन्दिरमा पूजाआजाका लागि खासै रोकतोक नलगाएका कारण पनि यहाँका शक्ति पीठमा बिहानदेखि भक्तजनको भीड लागेको दिपायल सिलगढी नगरपालिका–६ का स्थानीयवासी रामबहादुर धामीले बताए ।

“जिल्लामा कोरोना जोखिम निकै कम छ, गत वर्ष आफूले भाकल गरेका पशु बलि दिन नपाएकाहरु यो वर्ष भाकल तिर्न आएका छन्, मन्दिरमा निकै भीड छ,” उनले भने ।

यहाँका भगवती तथा कालिका मन्दिरमा दर्जनौँ पशु बलि दिइएको छ भने बलि दिनका लागि भक्तजनहरु पालो कुरिरहेका छन् । स्थानीयवासीका अनुसार विभिन्न शक्ति पीठहरुमा बिहान ४ बजेदेखि भक्तजनहरु पूजा गर्न तथा पशु बली दिनका लागि लाइन लागेका छन् । आज महा अष्ठीका दिनदेखि यहाँका भगवती, कालिकादेवीका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।

शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय मानिन्छ । यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो हुुने भएकाले पनि भक्तजनलाई पूजाआजाका लागि निकै सहज हुँने शैलेश्वरी क्षेत्र विकास कोषका अध्यक्ष तथा मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले बताए ।

“कोरोना जोखिम पनि घटेको छ, शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय भएकाले भक्तजनको भीड लाग्ने गरेको हो,” उनले भने ।  यहाँको दिपायल पिपल्लामा रहेको भगवती मन्दिरमा आज पशु बलिमा राँगा दिइने भएकाले भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

यसैगरी प्रसिद्ध देवी सालमुनीमा बोका मात्रै बलि दिइने चलन रहेको पुजारी तेजबहादुर बादीले जानकारी दिए । उनका अनुसार उक्त मन्दिरमा आजको दिन मात्रै कम्तीमा पनि एक हजारसम्म बोका बलि चढाइन्छ ।