काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंको टीका लगाएका छन्। विजया दशमीका दिन बिहान १०:०२ बजेको शुभ साइतमा प्रधानमन्त्री देउवाले गुरु टिकाराम घिमिरेबाट टीका लगाएका हुन्।
श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयवीरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले टीका लगाएको तस्बिर सार्वजनिक गरेका छन्।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा आरजु देउवा र छोरा जयवीर देउवालाई दशैंको टीका लगाइदिए । प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिएका हुन्।
यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले सर्वसाधरणलाई टीका लगाइदिएनन्। कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ।