लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरमा आपराधिक क्रियाकलापमा वृद्धि

लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरमा आपराधिक क्रियाकलापमा वृद्धि

कञ्चनपुर। लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आपराधिक क्रियाकलापमा वृद्धि भएको पाइएको छ । चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको पाइएको छ ।

कमजोर खालको सुरक्षा हुने ठाउँको पहिचान गरी चोरीलगायत घटना हुने गरेका छन् । “मदिरा पसल, फलफूल पसल, किराना पसल लगायतमा चोरी बढी भएको पाइएको छ,” इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले भने, “चोरी गरी भाग्न सजिलो भएका ठाउँ, उज्यालो नभएको र सुरक्षाका पर्याप्त साधनहरु नअपनाइएका पसललगायतमा बढी चोरी भएको पाइएको छ । यी सबै घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नता देखिएको छ ।” 

उनका अनुसार ९० प्रतिशत आपराधिक घटनामा लागूऔषधका प्रयोगकर्ता संलग्न रहेका छन् । नगरपालिका क्षेत्रमा १५ देखि २५ वर्षका युवाहरु लागूऔषधको कुलतमा फसेका छन् । जसको सङ्ख्या ७०० बढी रहेको अनुमान गरिएको छ । बजार क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म लागूऔषधका प्रयोकर्ताहरु रहेका छन् । रातिका बेला चौराह, दोबाटो, पुल लगायतका क्षेत्रमा सामूहिक रुपमा बसेर लागूऔषधको सेवन गर्ने र त्यसपछि आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ । 

लागूऔषधका सेवनकर्ता र कारोबारीहरुको पहिचान गरी पक्राउ गरी प्रहरीले प्रचलित कानुनअनुसार मुद्दासमेत चलाउँदै आएको छ । “लागूऔषध प्रयोकर्ताहरु र कारोबारीहरुमाथि निगरानी राख्ने कार्य  हुँदै आएको छ,” प्रहरी निरीक्षक बोहराले भने, “प्रहरी एक्लैको प्रयासले लागूऔषधको जालो भत्काउन गाह्रो छ । यसका लागि नगरपालिकाले समेत सचेतना अभियानलाई अगाडि बढाउनुपर्ने देखिन्छ ।”

नगरपालिकाका १२ वटै वडामा समय छँदै युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउनका लागि कार्य अगाडि नबढाइए यसले डरलाग्दो अवस्थामा पु¥याउने उनको भनाइ छ । प्रहरीले सशस्त्र प्रहरीसँग मिलेर समाजमा हुने अवाञ्छित गतिविधिमाथि नियन्त्रण गर्नका लागि चाडपर्व लक्षित संयुक्त गस्तीको कार्यलाई समेत अगाडि बढाएको छ ।