नेपाली क्रिकेटर विनोद भण्डारी विवाह बन्धनमा बाँधिए

नेपाली क्रिकेटर विनोद भण्डारी विवाह बन्धनमा बाँधिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् । विनोदले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन्। उनीहरूले असोज ६ गते ‘इन्गेजमेन्ट’ गरेका थिए।

दायाँ हाते ब्याट्सम्यान विनोद त्रिभुवन आर्मी क्लबका कप्तान हुन्। विनोद र सोनिका चार वर्षदेखि प्रेम सम्बन्धमा थिए।

महेन्द्रनगरका ३२ वर्षीय विनोदले २५ जनवरी २०१९ मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। विनोदले २००९ मा एसीसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उक्त खेलमा विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए।

उनले १६ मार्च २०१४ मा हङकङविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। विनोदले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई अर्धशतकसहित ३१९ रन बनाइसकेका छन्। उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक अर्धशतकसहित २२५ रन बनाइसकेका छन् ।