प्रदेश १ मा हालसम्म २०८८ जनाको कोरोना संक्रमणबाट मृत्यु

प्रदेश १ मा हालसम्म २०८८ जनाको कोरोना संक्रमणबाट मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट हालसम्म २०८८ जनाको मृत्यु भएको छ ।

पहिलो लहरको तुलनामा दोश्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । पहिलो लहरमा ४६६ जनाले ज्यान गुमाएका थिए भने दोश्रो लहरको शनिबार सम्ममा १ हजार ६२२ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा ७०६ महिला र १ हजार ३८२ पुरुष रहेका छन् । २०८८ जना मृत्यु भएका मध्ये १५३ जना प्रदेश १ बाहिरका छन् ।

मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशी अनुसार मोरङमा ५३९, सुनसरीमा ५२५, झापामा ५२१, इलाममा ११०, उदयपुरमा ६१, पाँचथर र धनकुटामा ४५–४५, संखुवासभा र तेहृथुममा २१–२१, ताप्लेजुङमा १४, भोजपुरमा १३, ओखलढुङ्गामा ११, सोलुखुम्वुमा ५ र खोटाङमा ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

उमेर समूह अनुसार १० वर्ष सम्मका ५ बालबालिकाको मृत्यु भएको छ । ११–२० वर्ष उमेर समूहका २०, २१–३० का ८३, ३१–४० का २३२, ४१–५० का ३३६, ५१–६० का ४३१, ६१–७० का ४६९ र ७१ देखि माथिका ५०८ जनाले ज्यान गुमाएका छन् । जनस्वास्थ्य अधिकृत राजवंशीका अनुसार मृत्यु भएका मध्ये ४ जनाको उमेर समूह खुलेको छैन ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षणबाट १ लाख ५ हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा शनिबार सम्म पीसीआर र एन्टिजेन दुवै गरि ६ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमण दरमा कमी नआउँदै स्वास्थ्य मापदण्ड पालना नगर्नेहरुको संख्या बढेको जनस्वास्थ्यकर्मीहरु बताउँछन् । परीक्षण दर कम भएका दिन संख्या घट्छ, परीक्षण बढेका दिन संक्रमित बढ्ने गरेको देखिएको जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठ बताउँछन् । संक्रमण दरमा कमी नआउँदै स्वास्थ्य मापदण्ड पालना नगरेको देखिएको उनले बताए । उनले भने,‘ कोरोनाको जोखिम कायमै छ ।’