पलभरको वर्षाले 'पानी-पानी' हुने धनगढीका यी सडक कहिले सुध्रेलान् ?

पलभरको वर्षाले 'पानी-पानी' हुने धनगढीका यी सडक कहिले सुध्रेलान् ?

धनगढी । आइतबार राती  परेको वर्षाले धनगढीका अधिकांश सडक हिलाम्मे भएका छन् ।  धनगढीको सामाजिक विकास मन्त्रालय, मालपोत कार्यालय जानेबाटोमा पुरै पानी जमेको छ । 

त्यस्तै, एसियाली विकास बैङ्कको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाले निर्माणका लागि ठेक्का सम्झौता गरेको निर्माणाधीन सहिद गेटदेखि क्याम्पस रोड जोड्ने सडकमा हिलो र पानीका कारण स्थानीयलाई आवतजावत गर्न समेत अत्यधिक सास्ती खेप्नुपरेको छ । 

स्मार्ट सहर परिकल्पना गरिएको धनगढी उप-महानगरपालिकाको चौराहा देखी क्याम्पस चौक सम्मको सडकको अवस्था पनि केही उस्तै नै छ । उक्त सडकमा  जताततै खाल्डाखुल्डी परेका छन् । जसका कारण सडकमै पानी जमेको छ । जसले गर्दा पैदल यात्रु, दुई पाङ्ग्रे र तिन पाङ्ग्रे सवारी साधन सबैभन्दा बढी मारमा पर्ने गरेका छन् । 

 हिँड्नै गाह्रो हुने गरी सडक बिग्रिँदासम्म उपमहानगरपालिकाको कार्यालयले कुनै कदम नचाल्दा नगरवासी आक्रोशित भएका छन् । नगर प्रमुख तथा सरोकारवाला निकायको सामाजिक सञ्जालमा ट्रोल बनाइरहँदा पनि सम्बन्धित निकाय भने मौन बेखबर जस्तै देखिन्छन् ।