धनगढी । धनगढी उप-महानगरपालिकाका अधिकांश बस्ती डुबानमा परेका छन्। आइतबार रातिदेखि भइरहेको वर्षाले उप-महानगरपालिकाका अधिकासं बस्ती डुबानमा परेका हुन्।
उप-महानगरपालिकाको वडा नम्बर ३ को विशालनगर, मिलनचोक, मुख्य बजारको पार्कमोड, एलएनचोक लगायतका क्षेत्रमा घर र पसलमा पानी पसेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढीका दर्जनौ घरमा पानी पसेको छ। ‘विभिन्न क्षेत्रबाट घरमा पानी पसेको गुनासो आइरहेका छन्। यकिन तथ्याङक भने आउन बाँकी छ,’ उनले भने।
सार्वजनिक जग्गा जथाभावी बिक्री गरिदा धनगढी उप-महानगरपालिकामा डुबानको समस्या बढ्दै गएको छ। उप-महानगरपालिकामा नगर विकास समितिले खोलानाला, कुलो र ताल क्षेत्रको जग्गासमेत बिक्री गरेको छ भने सोही जग्गामा संरचना निर्माण गर्न उप-महानगरपालिकाले नक्सा पास गरिदिएको छ।