कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना महाकाली नदीमा फसे

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना महाकाली नदीमा फसे

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा ५ जना महाकाली नदीमा फसेका छन् । उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका हुन् ।

स्थानीय खेमसिंह नाथका अनुसार मसेट्टीका स्थानीयले उक्त क्षेत्रमा कुखुराको खोर बनाएका थिए । त्यसकै लागि उनीहरू त्यहाँ बस्ने गरेका हुन् ।आइतबारदेखि नै नदीको एक भँगालो पूर्वतर्फबाट बग्न थालेपछि उनीहरू बीचमा फसेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले बताए ।

उद्धारका लागि नेपाली सेनासँग समन्वय गरिरहेका उनले बताए । महाकाली नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा रहेको छ । सोमबार बिहान महाकालीमा पानीको बहाव ५ लाख २ हजार क्युसेक मापन गरिएको छ जुन यो वर्षकै सबैभन्दा बढी हो । बाढी अझै बढ्ने क्रम जारी छ ।

नदीमा बहाव बढेपछि सोमबार साँझदेखि नै ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको थियो । सय वर्ष पुरानो पुलमा जोखिम हुने भन्दै नदीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चारपांग्रे सवारी आवागमनमा रोक लगाइने गरेको छ ।