सुदूरपश्चिममा बाढीपहिरोमा परी १४ जनाको मृत्यु, तपाईँको जिल्लामा कति क्षति ?

सुदूरपश्चिममा बाढीपहिरोमा परी १४ जनाको मृत्यु, तपाईँको जिल्लामा कति क्षति ?

धनगढी । सुदूरपश्चिममा पहिरोमा परेर १४ जनाको ज्यान गएको छ । २४ घण्टा नबित्दै फरक–फरक  घटनामा १४ जनाको ज्यान गएको हो ।

 पहिरोमा परेर सबैभन्दा बढी डोटीमा नौ जनाको ज्यान गएको छ । यस्तै गरेर बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको ज्यान गएको छ ।

डोटीको सायल गाउँपालिका वडा नं. ६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा पहिरो खस्दा उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको खबर छ । जोरायलको वडा नं ३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोमा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराको भनाइ उदृत गर्दै स्थानीय तारा कपड्यालले जोगी सार्कीकी श्रीमतीको उपचारका क्रममा स्थानीय पोलीक्लिनिकमा मृत्यु भएको खबर दिएका छन् । त्यस्तै जोरायल गाउँपालिकाको वडा नं ४ मा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । सइकडा खोलामा आएको बाढीले घर भत्काउँदा ४२ वर्षीय सेरबहादुर बिक, उनको छोरा १८ वर्षीय मोहन, १३ वर्षीया पबित्रा बिक र १६ वर्षीय रबिन बिकको मृत्यु भएको जिल्ला प्रहरी डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए ।

त्यस्तै शिखर नगरपालिका वडा नं ११ की ३५ वर्षीया मन्दरा बलायरको पहिरोबाट खसेको ढुंगा टाउकामा लागेर मृत्यु भएको छ । घाइते भएकी बलायरको उपचारका क्रममा सुजंग अस्पतालमा मृत्यु भएको थियो ।

यस्तै  डडेल्धुराको गन्यापधुरा गाँउपालिका– १ भात्काडामा सन्ध्या फेन्सी स्टोर पसल गरेर बस्ने ३२ वर्षीय विष्णुप्रसाद अवस्थीको घरमाथिबाट पहिरो खस्दा उनको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए ।

सोमबार राति १२ः३० बजे तिर घरमाथिबाट खसेको पहिरोमा च्यापएिर मृत्यु भएको मृतकका आफन्तले भोजराज जोशीले बताए । घरपछाडि रहेको भान्साबाट पानी सहितको लेदो भित्र पस्नथालेपछि पन्छाउने क्रममा टिनको छानामाथिबाट पहिरो खसेको थियो ।

मृतकका श्रीमती र छोराछोरीको भने स्थानीयले उद्धार गरेको जनाइएको छ । डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ । घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै गरेर बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदका अनुसार वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की ,२४ वर्षीय भानु पार्की र तीन वर्षीय सोम पार्की छन् ।