बेमौसमी वर्षाले २० प्रतिशतसम्म धानबाली क्षति

बेमौसमी वर्षाले २० प्रतिशतसम्म धानबाली क्षति

बेमौसमी वर्षाले तराई भेग तथा पहाडी क्षेत्रमा २० प्रतिशतसम्म धानबाली क्षति भएको छ।

देशभर यसवर्ष करिब १५ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो। नेपाल कृषि अनुसन्धान परिषद्का राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. भानु पोखरेलका अनुसार कुल बालीको करिब १५–२० प्रतिशतसम्म क्षति भएको प्रारम्भिक अनुमान गएिको छ। 

अझै लगातार पानी परिरहेकाले थप क्षति हुन सक्ने उनको अनुमान छ। कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले विगतका वर्षभन्दा यसपटक धान रोप्ने मौसम राम्रो भएकाले ९८.३३ प्रतिशतको हाराहारीमा रोपाइँ भएको जनाएको छ। तर, धान भित्र्याउनुअघि नै अधिकांश काटेर राखेको धान खेतमै डुवान र बाढीले बगाउँदा पूरै क्षति हुन पुगेको छ। मन्त्रालयका अनुसार अहिले करिब २५ जिल्ला बढी प्रभावित छन्। विशेषगरी लुम्बिनी, सुदूरपश्चिम, प्रदेश १ र २ का जिल्लाहरूमा बढी क्षति पुगेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए।

गत वर्ष १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान रोप्दा ५६ लाख २१ हजार ७१० मेट्रिक टन उत्पादन भएको थियो। तर, मन्त्रालयले यस वर्षको अनुमानित उत्पादनको तथ्यांक प्रसारण गर्ने अन्तिम चरणमा पुगेका बेला वर्षाले क्षति पुर्‍याएको मन्त्रालयका प्रवक्ता सञ्जेलको भनाइ छ। उनका अनुसार यसपटक मुलुकभर वर्षा समयमै भएकाले रोपाइँ झण्डै शतप्रतिशत हुँदा गत वर्षको भन्दा १५ प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो। डा. पोखरेल भन्छन्, ‘अघिल्लो वर्ष २८ अर्ब र गत वर्ष ४८ अर्ब रुपैयाँ बराबरको धान भित्र्याएकोमा यस वर्षको क्षतिले घट्ने देखिएको छ।’
तराई क्षेत्रमा मात्रै होइन पहाडी भू–भागको धानखेतीमा समेत क्षति पुगेको छ। प्रदेश १ र २ का जिल्लाहरू प्रभावित बनेका छन्।  प्रदेश १ अन्तर्गत झापा, मोरङ र सुनसरीमा, प्रदेश २ अन्तर्गत सर्लाही र सप्तरीमा र कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा धानखेती प्रभावित बनेको छ मन्त्रालयले बताएको छ। 

यद्यपि, अधिकांश भू–भागमा वर्षा भइरहेकाले अझै सबै क्षेत्रको तथ्यांक आउन बाँकी भएको उनले बताए। 

प्रत्येक प्रदेशमा धानबालीको क्षति कति भयो ? भन्ने एकिन तथ्यांकका लागि कृषि तथा पशुपंन्छी मन्त्रालयले  अध्ययन टोली पढाउने भएको छ। शुक्रबारसम्म टोली परिचालन गरिसक्ने मन्त्रालयले बताएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा ममता थापाले खबर लेखेकी छन् ।