मुलुकको बर्बादी देखेर काँग्रेस सरकारमा आएको हो : कानून मन्त्री बडू

मुलुकको बर्बादी देखेर काँग्रेस सरकारमा आएको हो : कानून मन्त्री बडू

दार्चुला  । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको बर्बादी देखेर काँग्रेस सरकारमा आएको बताउनु भएको छ । 

गृह जिल्ला दार्चुला पुगेका बडूले बिहीवार नेपाल प्रेस युनियन दार्चुलाद्धारा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै केपी ओलीले निरङ्कुसता तर्फ धकेलिरहेको मुलुकलाई ठीक ठाउँमा ल्याउन र संविधान जोगाउन आफूहरु सरकारमा आएको बताउनु भएको हो । 

वर्तमान सरकार विशेष परिस्थितिमा बनेको सरकार भएको भन्दै उनले विकास निर्माणदेखि लिएर निर्वाचन गराउने र जनताका अपेक्षालाई सम्बोधन गर्नेसम्मका महत्वपूर्ण जिम्मेवारी यो सरकारको काँधमा रहेको बताए । बडूले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगलाई पूर्णता दिएर मुलुकमा एकताको वातावरण दिन चाहेको बताए ।

‘सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगलाई हामी पूर्णता दिन्छौं,’ उनले भने, ‘अनि मुलुकमा एउटा नयाँ शासन स्थापित, शान्ति स्थायित्व हुन्छ ।’ मुलुकमा स्थायी शान्ति भयो भने विकास निर्मांणले ठूलो फड्को मार्ने मन्त्रीले बडूको भनाई थियो । 

उनले कांग्रेस नेतृत्वको सरकारको पहिलो उद्धेश्य संविधानको रक्षा गर्नुभएको पनि बताए । ‘सरकारका सामुन्ने धेरै महत्वपूर्ण उद्देश्य छन् । पहिलो उद्धेश्य नै संविधान बचाउने हो, बडूले भने, ‘संवैधानिक सर्वोच्चता कायम गर्ने, नेपालमा कानूनी राज्यको अनुभुती दिलाउने र नेपालमा सुशासन कायम गर्नु सरकारको दायित्व हो ।’ 

सोही कार्यक्रममा बोल्दै बडूले दार्चुलाको तुइनको विकल्प भनेको तिंकर सडक निर्माण भएको भन्दै अब छुट्टै बजेटमार्फत निर्माण सम्पन्न गरिने बताए । दार्चुला सदरमुकाम खलंगादेखि सुन्सेरासम्म कालोपत्रेको लागि प्रक्रिया थालिएको जनाए । महाकाली कोरिडोरको नामले दार्चुला–तिंकर सडक पछि परेको उनको भनाइ थियो । साथै उनले बाढि पहिरोले प्रभावित स्थानीय तहका लागि विशेष प्याकेज मार्फत विकास गरिने बताए । 

पत्रकारहरुको प्रश्नको जवाफमा उनले तुइन घटनामा बेपत्ता भएका जयसिंह धामी प्रकरणको कुटनीतिक रुपमा छलफल भइरहेको र दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय र क्षतिपुर्ति सरकारले दिने बताए । यस्तै अतिक्रमित भूमी कालापानी क्षेत्रमा जनगणनका लागि सरकारले वैकल्पिक तवरबाट भएर पनि जनगणना गर्ने बताए ।

बुधवार गृह जिल्ला दार्चुला पुगेका मन्त्री बडू विभिन्न कार्यक्रममा सरिक हुनु भएको थियो । बुधवारै गोकुलेश्वरमा कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा  सरिक हुनु भएका बडू बिहीवार जिल्ला सदरमुकाम खलंगामा कार्यालय प्रमुख, नेपाल ट्रेड युनियन काँग्रेस, काँग्रेस कार्यकर्ता, स्थानीय जनप्रतिनिधि तथा पत्रकार सम्मेलन कार्यक्रममा व्यक्त रहनु भयो । शुक्रवार मन्त्री बडू काठमाडौँ फर्कने कार्यक्रम रहेको जनाइएको छ ।